काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
काठमाडौँ, उपत्यकाको वातावरण, सौन्दर्य र नदीनालाको स्वच्छतालाई प्राथमिकतामा राख्दै काठमाडौँलाई समृद्ध र हरियाली बनाउने सकारात्मक पहलमा जोड दिइएको छ। विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा काठमाडौँ महानगरपालिका-१७ खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती, विष्णुमती र धोबीखोलालाई आनन्दले नुहाउन मिल्ने गरी स्वच्छ र कञ्चन बनाउनुपर्नेमा विशेष जोड दिइएको छ।
कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहरको मुख्य प्राण मानिने नदीनाला सफा नभएसम्म काठमाडौँको वास्तविक सौन्दर्य उजागर हुन नसक्ने बताउनुभयो। विगतमा नेपाल विद्युत् प्राधिकरणमा रहँदा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल बनाउन योगदान पुर्याउनुभएका घिसिङले अब मुलुकका सबै क्षेत्रलाई समृद्ध, हरियाली र उज्यालो बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने सन्देश दिनुभयो।
उहाँले विगतमा काठमाडौँ महानगरपालिकाबाट सुरु गरिएका नदी सफाइका सकारात्मक प्रयासहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। वातावरणीय सुधार र स्थानीय विकासका लागि सरकार, स्थानीय निकाय र नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
सोही कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि एकजुट हुन आह्वान गर्नुभयो भने सेवा समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास, हरियाली प्रवर्द्धन र सामाजिक कार्यमा सबैलाई हातमालो गर्न अपिल गर्नुभयो। चाडपर्वको अवसरमा आयोजित यस कार्यक्रमले राजधानीलाई सफा, हरियाली र बस्नयोग्य बनाउने साझा संकल्प व्यक्त गरेको छ।



प्रतिकृया दिनुहोस्