जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा

जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा

काठमाडौँ, दसैँको मौका छोपेर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुर र चितवनका विभिन्न स्थानबाट १७ जनालाई रंगेहात पक्राउ गरेको छ। प्रहरीले उनीहरूका साथबाट नगद ३ लाख ५३ हजारभन्दा बढी रुपैयाँ र ७ बुक तास बरामद गरेको छ।

पहिलो कारबाहीमा ललितपुरको महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलबाट ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले सोमबार बेलुकी ४९ वर्षीय अश्मिन केसीसहित ४ जनालाई नगद ६७ हजार ८ सय रुपैयाँ र १ बुक ताससहित खालबाटै नियन्त्रणमा लिएको हो।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित डेरा गरी बस्ने ३६ वर्षीय विशाल चौधरीको कोठामा छापा मार्दा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बेलुकी उनीहरूलाई नगद १ लाख १७ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै चितवनकै भरतपुर महानगरपालिका-२२ पटिहानीस्थित ‘होटल रिभरसाइड’मा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ५० वर्षीय प्रेम ठकुरीसहित ५ जना सोमबार दिउँसो पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६८ हजार ६ सय ३५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।

पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।