प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
काठमाडौँ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडा दसैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको पूजाअर्चनाका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बली पूजा गर्नुका साथै निसानमा पञ्जा छाप लगाउनुभयो। सो अवसरमा मौलोपूजाका क्रममा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो। पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो भने सो क्रममा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो, जसमा दुई वटा निशान हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ। राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिने गरिन्छ।
संगठनको कार्य सम्पादनमा कुनै अनिष्ट नहोस् र सफलता मिलोस् भन्ने कामनासहित निशान झण्डालाई पूजा गर्ने परम्परा रहँदै आएको छ। वि.सं. २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात नेपाल प्रहरीले हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ। देशभरका विभिन्न प्रहरी इकाईहरूमा रहेका मौलोमा पनि आजै विधिवत रूपमा मौलो पूजा सम्पन्न भएको छ।
तस्बिर: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय



प्रतिकृया दिनुहोस्