काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
काठमाडौँ, असोज — चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा जुवातास नियन्त्रण अभियानलाई कडा बनाएको प्रहरीले काठमाडौँ, कास्की र मोरङका छुट्टाछुट्टै स्थानबाट १६ जनालाई पक्राउ गरेको छ।
पहिलो घटनामा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा घर भई सोही ठाउँ बस्ने ५० वर्षीय हिमाल कुमार दाहालसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई नगद ६१ हजार रूपैयाँ र ११ थान ओखरसहित नियन्त्रणमा लिएको हो।
दोस्रो घटनामा, कास्कीको पोखरा महानगरपालिका-२६ बिजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापासहित ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद ५७ हजार रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
त्यसैगरी तेस्रो घटनामा, मोरङको पथरी शनिश्चरे नगरपालिका-२ विष्णु चोक बस्ने सन्तोष कुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सन्तोषसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरूलाई नगद २० हजार ९ सय ३० रूपैयाँ र ३ बुक तासबुकसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्