गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!

गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!

गोरखा, २५ असोज — निरन्तरको वर्षापछि चुमनुब्री गाउँपालिका-६ स्थित उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा मिसिएको उर्लंदो बाढीले गोरखामा ठूलो विनाश मच्चाएको छ। बाढीले धार्चे गाउँपालिका जोड्ने महत्वपूर्ण माछीखोला पुलका साथै आरुघाटको सोतीबजार र मान्बु जोड्ने अर्को पुलसमेत बगाएको छ। दुवै मुख्य पुलहरू एकैसाथ बगेपछि तल्लो र माथिल्लो क्षेत्रको सीधा यातायात र आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

बूढीगण्डकीको तीव्र बहाव र भेल माछीखोला बजारसम्मै पसेपछि स्थानीय बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठहरू बगेका छन् भने त्यहाँ बाँधिएका १५ वटा याक तथा नाक (चौपाया) समेत बाढीले बगाएको छ।

विपत्तिमा परी चौपायाको हेरचाहका लागि गोठमा बसेका चार जना स्थानीय बासिन्दा बाढीसँगै सम्पर्कविहीन भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बेपत्ता भएका व्यक्तिहरूको तीव्र खोजी गर्नुका साथै प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि सुरक्षा निकायहरू खटिएका छन्।

पुलहरू बगेपछि धार्चे र चुमनुब्री क्षेत्रका दर्जनौँ गाउँहरू अलपत्र परेका छन् भने स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। नदीको बहाव अझै उच्च रहेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।