‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!

‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!

भक्तपुर, लोकप्रिय डिजिटल वालेट ‘खल्ती’ (Khalti) को आधिकारिक कर्मचारी भन्दै सर्वसाधारणलाई भ्रममा पारेर डिजिटल ठगी गर्ने चार जनाको गिरोहलाई प्रहरीले हात्तीबनस्थित एक अपार्टमेन्टबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टमा छापा मारी उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रौतहट ईशनाथ नगरपालिका-३ घर भई ललितपुर हात्तीबन बस्ने २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ-३ का २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ का २१ वर्षीय रिसी गंगा रहेका छन्। उनीहरूले अपार्टमेन्टको कोठा नम्बर टिई/१३०५ लाई अखडा बनाएर ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।

आरोपीहरूले विभिन्न मोबाइल नम्बरबाट पीडितहरूलाई फोन गरी आफूलाई ‘खल्ती’ को आधिकारिक प्रतिनिधि बताउने गरेका थिए। उनीहरूले समस्या समाधान गरिदिने बहानामा पीडितको मोबाइलमा स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (OTP) कोड हासिल गरी बैंक तथा वालेट खाताहरूमा अनधिकृत पहुँच पुर्‍याएर रकम अन्यत्रै ट्रान्सफर गर्ने गरेका थिए।

अपार्टमेन्टबाटै सञ्चालित यो डिजिटल ठगी गिरोहका चारै जनालाई भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। अनलाइन तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई कसैलाई पनि ओटीपी (OTP) वा स्क्रिन सेयर नगर्न र यस्ता भ्रामक कलहरूबाट सतर्क रहन प्रहरीले आग्रह गरेको छ।