२१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!

२१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!

काठमाडौं, राजधानीको बुढानिलकण्ठबाट प्रहरीले ठूलो मात्रामा अवैध सुनसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७ सय ५० ग्राम ६ सय ८० मिलिग्राम (करिब २२ किलो) अवैध सुनसहित उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा सोही स्थानमा भाडामा बस्दै आएका २७ वर्षीय हान फेई (HAN FEI), ४७ वर्षीय झाउ लोङक्विन (ZHOU LONGQIN) र ३७ वर्षीय वाङ जियान्झेन (WANG JIANZHEN) रहेका छन्। उनीहरूले घर नै भाडामा लिएर लामो समयदेखि अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार गरिरहेको विशेष सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूको डेरामा छापा मारेर पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणको सुनका साथै ठूलो मात्रामा नेपाली तथा विदेशी मुद्रा, सुन ओसारपसारमा प्रयोग हुने सवारी साधन, सुन प्रशोधन गर्न प्रयोग गरिने मेसिन तथा उपकरणहरू र विभिन्न कागजातहरू समेत बरामद गरेको छ।

घरभित्रै सुन प्रशोधन गर्ने मेसिनसमेत फेला परेकाले यो कुनै ठूलो अन्तर्राष्ट्रिय सुन तस्करी गिरोहको सञ्जाल हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान जारी रहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।