विदेश पठाइदिने भन्दै ठगी! ग्रिस र क्रोएसियाको प्रलोभनमा ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीका लागि युरोपका आकर्षक गन्तव्यमा पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आकर्षक तलब र विदेश जाने सपनाको प्रलोभन देखाएर रकम ठगी गरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ मा बस्ने, वडा नं. २१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ मा बस्ने धादिङको गल्छी गाउँपालिका–३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन्।
प्रहरीका अनुसार जोशीले ग्रिस पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएको आरोप छ। त्यस्तै, खनालले क्रोएसिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले जोशीलाई काठमाडौं महानगरपालिका–२९ र खनाललाई महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।
दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाँदा सावधान! विदेश पठाइदिने भन्दै गरिने आकर्षक प्रस्तावमा विश्वास गर्नुअघि सम्बन्धित म्यानपावर कम्पनीको इजाजत, रोजगारदाता, श्रम स्वीकृति तथा भुक्तानीका आधिकारिक कागजात जाँच गर्नुहोस्। रकम बुझाउँदा अनिवार्य रूपमा रसिद लिनुहोस् र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा उजुरी गर्नुहोस्।



प्रतिकृया दिनुहोस्