रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ। सहयोग रकमको चेक नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो।

कम्पनीका अनुसार प्राप्त सहयोगले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यमा केही हदसम्म थप बल पुग्ने अपेक्षा गरिएको छ।

नेपाल लाइफले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको दुःखमा साथ रहेको जनाएको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताउने नेपाल लाइफले आगामी दिनमा पनि विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले प्रभावित समुदायको राहत तथा पुनर्स्थापना अभियानमा नागरिक, संघसंस्था तथा निजी क्षेत्रलाई आफ्नो क्षमता र क्षेत्रअनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।

फोटो/स्रोत : नेपाल लाइफ इन्स्योरेन्स