वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरूमा आकर्षक तलबको प्रलोभन देखाई करोडौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बागलुङ घर भई हाल टोखा बस्ने २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मीकी ३४ वर्षीया नेहा अधिकारी, पाँचथर घर भई कागेश्वरी मनोहरा बस्ने ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरीकी ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।

पक्राउ परेकामध्ये दिपकले टर्की पठाइदिने भन्दै १ जनाबाट २ लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै २ जनाबाट ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै २ जनाबाट ६ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै १ जनाबाट ५ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

अनुसन्धान टोलीले दिपकलाई टोखाबाट शुक्रबार, नेहालाई काठमाडौं-११ बाट शनिबार, सुमनलाई कागेश्वरी मनोहराबाट आइतबार र सुस्मितालाई काठमाडौं-१७ बाट सोमबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।