पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
काठमाडौँ। नेपालका प्रतिष्ठित उद्योगपति दीपक कुमार मल्होत्राले नेपाली कथानक चलचित्र ‘मास्टर्नी’ को उच्च प्रशंसा गर्दै यसलाई आफूले हेरेका उत्कृष्ट नेपाली चलचित्रहरूमध्ये एक भएको बताएका छन्। अगस्ट ३ (साउन १९) गते आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली सिनेमाको विकास र प्रवर्द्धनका लागि सकारात्मक सोचका साथ प्रोत्साहन गर्न सबै दर्शकहरूलाई आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमा चलचित्रलाई लिएर भएका केही अनावश्यक र तथ्यहीन नकारात्मक टिप्पणीहरूप्रति आश्चर्य व्यक्त गर्दै उद्योगपति मल्होत्राले कलाकारले कथाको आवश्यकता अनुसार फरक–फरक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। ‘मास्टर्नी’ मा कुनै अश्लीलता वा नकारात्मक विषयवस्तु नरहेको स्पष्ट पार्दै उनले प्रियंका कार्कीले यस चलचित्रमा एक जिम्मेवार आमा र शिक्षिकाको भूमिकासँगै अत्यन्तै प्रभावशाली अभिनय प्रस्तुत गरेको उल्लेख गरेका छन्।
नायिका तथा निर्मात्री प्रियंका कार्कीले जोखिम मोलेर नेपाली चलचित्र निर्माणमा लगानी गर्ने र नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउने साहस गरेको भन्दै उनले सिर्जनशील प्रयासलाई निरुत्साहित गर्नुभन्दा प्रोत्साहन र हौसला दिनु सबैको जिम्मेवारी भएको जोड दिएका छन्।
“मैले यस चलचित्रमा एक रुपैयाँ पनि लगानी गरेको छैन। चलचित्र साँच्चिकै उत्कृष्ट र सभ्य भएकाले मात्र आफ्ना सकारात्मक विचार राखेको हुँ। बरु यो चलचित्र हेरेपछि उहाँको आगामी परियोजनाहरूमा लगानी गर्ने सोच बनाउन भने प्रेरित भएको छु।”
‘मास्टर्नी’ को कथावस्तु, सन्तुलित प्रस्तुति र सस्पेन्स थ्रिलर संयोजनले दर्शकलाई अन्त्यसम्म उत्सुक बनाइराख्ने र एक क्षण पनि बोरिङ हुन नदिने उनको अनुभव छ। पूर्वाग्रह वा नकारात्मक मानसिकताका आधारमा टिप्पणी गर्दा समग्र चलचित्र क्षेत्र नै निरुत्साहित हुने भएकाले दर्शकहरूलाई सिनेमा हलमै पुगेर चलचित्र हेरी निष्पक्ष प्रतिक्रिया दिन उनले विनम्र अनुरोध गरेका छन्।



प्रतिकृया दिनुहोस्