अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं, प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विभिन्न उमेर समूहका व्यक्ति रहेका छन्।
कास्कीमा ६ जना पक्राउ : पोखरा महानगरपालिका–१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २२० ट्याब्लेटसहित सन्दिप गुरुङसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा पोखरा–१ सिम्पानीका २१ वर्षीय लुकास तामाङको पोखरा–२५ हेम्जास्थित डेरा कोठाबाट थप ८०० ट्याब्लेट टापेन्टाडोल बरामद भएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङमा ३ स्थानबाट पक्राउ : सुन्दरहरैँचा–५ खोक्सीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९० मिलिग्रामसहित २२ वर्षीय प्रशान्त मगर, लेटाङ–३ विरनटोलबाट करिब १०० ग्राम गाँजासहित १८ वर्षीय किशोर तथा कानेपोखरी–६ नर्सरी डाँडाबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन्।
सुनसरीमा ३ जना पक्राउ : इटहरी–१० शिवनारायण टोलस्थित मोहन गुरुङको घरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८५० मिलिग्राम बरामद भएपछि मोहनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्दियामा ठूलो परिमाणमा खैरो हेरोइन बरामद : बढैयाताल गाउँपालिका–२ बाट करिब ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित ५२ वर्षीय दिवे सुनार पक्राउ परेका छन्।
धनुषामा ३९ ग्रामभन्दा बढी पदार्थ बरामद : विदेह नगरपालिका–८ बफैबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३६० मिलिग्रामसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन्।
झापामा ब्राउनसुगरसहित पक्राउ : बिर्तामोड–३ बाट ४९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४० वर्षीय सन्तोष राजबंशी पक्राउ परेका छन्।
ललितपुरमा नियन्त्रित लागूऔषध बरामद : हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन ४ ग्रामसहित सुरज तामाङसहित २ जना पक्राउ परेका छन्। यस्तै, महालक्ष्मी नगरपालिका–३ इमाडोलबाट टापेन्टाडोल ७१० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका छन्।
कैलालीमा ४ जना पक्राउ : धनगढी उपमहानगरपालिका–८ बाट १ ग्राम १३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित क्रिस बमसहित ४ जना पक्राउ परेका छन्।
तनहुँमा गाँजासहित २ जना पक्राउ : व्यास नगरपालिका–९ माझफाँटमा मनोज थापाको घर तलासी गर्दा करिब १ किलो ५५० ग्राम गाँजा बरामद भएपछि मनोजसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुरमा २ जना पक्राउ : कटारी नगरपालिका–३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेटसहित १९ वर्षीय सलम खानसहित २ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरू सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ। लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि विभिन्न स्थानमा निगरानी र कारबाहीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्