तीज विशेष : सरिता भारतीको स्वरमा ‘भिजायो फरिया बर्खैले’ सार्वजनिक, मौलिक तीजको स्वादमा युवापुस्ताको भावना

तीज विशेष : सरिता भारतीको स्वरमा ‘भिजायो फरिया बर्खैले’ सार्वजनिक, मौलिक तीजको स्वादमा युवापुस्ताको भावना

काठमाडौं । तीज पर्व नजिकिँदै गर्दा गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीको स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले’सार्वजनिक भएको छ। गीतको भिडियो एसबी क्रिएसन नेपालको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

मौलिक तीजको सांस्कृतिक स्वादलाई युवापुस्ताको भावना, प्रेम, उमंग र अविवाहित युवतीको मनोभावसँग जोडेर तयार गरिएको गीतले तीजको उत्सवी माहोललाई नयाँ ढंगले प्रस्तुत गरेको छ। वर्षामा भिजेको फरियालाई प्रतीक बनाएर युवतीको भावना र तीजको रमाइलो पक्षलाई गीतमा कलात्मक रूपमा समेटिएको छ।

गीतका शब्द, लय तथा संगीत पत्रकार एवं गीतकार सुमन पण्डितले तयार पारेका हुन्। मदन केसीको संगीत संयोजन, सुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको गीतले तीजको मौलिकपनसँगै आधुनिक प्रस्तुति दिने प्रयास गरेको छ।

भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल विजेता चाँदनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, सोनी कारञ्जित, निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय रहेको छ। कलाकारहरूको नृत्य, पहिरन र प्रस्तुतिले भिडियोमा तीजको रौनक थपेको छ।

भिडियोको छायांकन तथा सम्पादन ओमप्रसाद प्रसाईले गरेका हुन्। एसबी क्रिएसनको निर्माणमा तयार भएको भिडियोमा सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी तथा डब्बु क्षेत्रीको निर्देशन रहेको छ।

गायन क्षेत्रमा एक दशकदेखि सक्रिय सरिता भारतीको यो तेस्रो तीज गीत हो। यसअघि उनले ‘रातो सारी लरक्कै’‘नाच्छ भने नाच्न दे’ जस्ता तीज गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो प्रस्तुति दिइसकेकी छन्।

नयाँ गीतबारे सरिताले यसपटक अविवाहित युवतीको मनोभाव, तीजको उमंग र वर्षामा भिजेको फरियाको प्रतीकात्मक भावनालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गर्न खोजिएको बताएकी छन्।

मौलिक संस्कृतिलाई नयाँ पुस्ताको सिर्जनात्मक प्रस्तुतिसँग जोड्दै सार्वजनिक गरिएको ‘भिजायो फरिया बर्खैले’ ले यस वर्षको तीजमा नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ सकारात्मक उत्साह थप्ने अपेक्षा गरिएको छ।

तीजको मौलिक रंग, युवापुस्ताको उमंग र सरिताको सुमधुर स्वर—‘भिजायो फरिया बर्खैले’ले तीजको माहोल झनै रंगीन बनाउने तयारीमा!