प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन : नागरिकका समस्या तत्काल सम्बोधन गर्न प्रहरीलाई आग्रह

प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन : नागरिकका समस्या तत्काल सम्बोधन गर्न प्रहरीलाई आग्रह

काठमाडौं, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक गतिविधि तथा नागरिकका समस्यालाई समयमै सम्बोधन गर्न प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट बिहीबार भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीबोधका साथ नागरिकको सेवामा थप सक्रिय हुन आग्रह गरे।

महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा असर पार्ने घटनाप्रति विशेष सतर्क रहन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या प्राथमिकतामा राख्न निर्देशन दिए। सामाजिक सञ्जालबाट प्राप्त सूचना तथा जानकारीलाई समेत सक्रिय रूपमा प्रयोग गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन उनले जोड दिए।

विपद् तथा प्रकोपका बेला उपलब्ध स्रोत–साधनको प्रभावकारी प्रयोग, भीड नियन्त्रणमा परिस्थितिअनुसार बल प्रयोग, तथा प्रविधिको अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन सुधार गर्नसमेत उनले निर्देशन दिएका छन्।

“नागरिकको समस्या समाधान र शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको पहिलो प्राथमिकता हो,” भन्ने भावसहित उनले विगतका कमजोरीको समीक्षा गर्दै सामूहिक योजनाका साथ अघि बढ्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।


Photo: Nepal Police