कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
काठमाडौं, भदौ ६, आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर महिलाहरूलाई कुवेत पठाउने भन्दै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंमा एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व, देवचुली नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाई रहेकी छन्।
प्रहरीका अनुसार एक महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाएर राखिएको भन्ने सूचना प्राप्त भएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा सम्बन्धित राजदूतावाससँग समन्वय गरी ती महिलाको उद्धार गरिएको थियो।
उद्धारपछि कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पछाईलाई तारकेश्वर–७ थापागाउँबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पछाईले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गरी आकर्षक तलब तथा सुविधाको प्रलोभन देखाउँदै घरेलु कामदारका रूपमा कुवेत पठाइदिने भन्दै महिलाहरूलाई काठमाडौं बोलाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले तारकेश्वर–७ थापागाउँमा कोठा भाडामा लिएर सम्पर्कमा आएका ९ जना महिलालाई कुवेत पठाउने तयारी गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले ती ९ जना पीडित महिलाको उद्धार गरेको जनाएको छ।
पक्राउ परेकी पछाईलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल काठमाडौं पठाइएको छ।



प्रतिकृया दिनुहोस्