नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव विशेष समारोहबीच सम्पन्न भएको छ। नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी प्रमुख अतिथि थिइन्।

समारोहमा मन्त्री बादीले संघको वार्षिक स्मारिका ‘सहचरी–२०८३’ विमोचन गर्दै सामाजिक तथा मानवीय सेवामा योगदान पुर्‍याउने पुष्पा बस्नेत, नविन जोशी, पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मान गरिन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संघले अमर प्रहरीका आश्रित परिवार, घाइते प्रहरी कर्मचारी, विद्यार्थी, महिला तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सेवा अझ विस्तार गर्नुपर्ने बताए।

संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक उत्तरदायित्व, प्रहरी परिवारको हित र महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

समारोहमा सांस्कृतिक प्रस्तुति, ‘सहचरी’ गीत तथा संघका सामाजिक गतिविधि समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।