विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३७ वर्षीय नविन लामा र सल्यान, शारदा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्।
प्रहरीका अनुसार नविन लामाले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। त्यस्तै, रमेश रेउलेले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नविन लामालाई काठमाडौं महानगरपालिका–२६ र रमेश रेउलेलाई महानगरपालिका–२९ बाट पक्राउ गरेको हो।
प्रारम्भिक विवरणअनुसार दुवै जनाले आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर पीडितबाट रकम लिएको आरोप छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएकोप्रहरीले जनाएको छ।
विदेश जाने सोचमा हुनुहुन्छ?
आकर्षक तलब र सजिलो प्रक्रियाको प्रलोभनमा रकम बुझाउनुअघि सम्बन्धित निकायबाट म्यानपावर तथा रोजगारीको विवरण अनिवार्य रूपमा जाँच गर्नुहोस्।



प्रतिकृया दिनुहोस्