आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका–३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन्।
प्रहरीका अनुसार हर्षले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख १० हजार रुपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितबाट २२ लाख ४६ हजार रुपैयाँ लिएको आरोप छ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
हर्षलाई काठमाडौं महानगरपालिका–१६ बाट र पदमलाई महानगरपालिका–३२ बाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, शिवनारायणलाई कागेश्वरी मनोहरा नगरपालिका–४ बाट शुक्रबार पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाएको जनाएको छ।



प्रतिकृया दिनुहोस्