१८ लाख रुपैयाँ फिरौती माग्दै अपहरण र शरीर बन्धक, ७ जना पक्राउ

१८ लाख रुपैयाँ फिरौती माग्दै अपहरण र शरीर बन्धक, ७ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा एक व्यक्तिलाई अपहरण गरी शरीर बन्धक बनाउँदै कुटपिट गरेर १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ फापरबारीका २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदिप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने झापा घर भएका एक व्यक्तिलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको र कुटपिटसमेत गरेको सूचना प्राप्त भएको थियो। त्यसपछि पीडितको परिवारसँग १८ लाख रुपैयाँ फिरौती रकम माग गरिएकोखुलेको प्रहरीले जनाएको छ।

सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पीडितको सकुशल उद्धार समेत गरेको जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।