कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–स्थित लोकन्थली बस्ने तथा सप्तरीको सुरुङ्गा नगरपालिका–५ घर भएका २४ वर्षीय मोहमद नुरूला रहेका छन्।

प्रहरीका अनुसार नुरूलाले कुवेत पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख ५ हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई लोकन्थलीबाट पक्राउ गरेको हो।

पक्राउ परेका नुरूलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।