NICCI र Genese Solutions द्वारा साइबर सुरक्षा तथा AI सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ, सेप्टेम्बर १, २०२६: नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (NICCI) ले Genese Solution को सहकार्यमा होटल रोयल टुलिपमा “साइबर सुरक्षा तथा AI: रणनीति, परिपक्वता र उदीयमान सुरक्षा चुनौतीहरू” विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नेपालका संस्थाहरूमा कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र प्रयोगसँगै बदलिँदै गएको साइबर सुरक्षा जोखिमका प्रभावबारे छलफल तथा विश्लेषण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
कार्यक्रमको सुरुवात Genese Solution का कार्यकारी परामर्श सल्लाहकार तथा NICCI को ICT समितिका सल्लाहकार श्री भीम ढकालको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि NICCI का उपाध्यक्ष श्री कुणाल कायलले उद्घाटन मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा Genese Solutions का प्रमुख प्रविधि अधिकृत (CTO) श्री निरञ्जन कुँवरले मुख्य प्रस्तुति दिनुभएको थियो। उहाँले AI को प्रयोगसँग सम्बन्धित उदीयमान साइबर जोखिम, क्लाउड प्रविधिमा बढ्दो निर्भरता, सुशासन, डेटा सुरक्षा तथा संस्थागत तयारीका विषयमा प्रकाश पार्नुभएको थियो।
प्रस्तुतिपछि जिम्मेवार ढंगले AI को प्रयोग गर्दा देखिने व्यावहारिक चुनौती, साइबर सुरक्षा परिपक्वता, संस्थागत तयारी तथा मानव संसाधनको क्षमता अभिवृद्धिलगायतका विषयमा जीवन्त प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रमको समापन FNCCI का बोर्ड सदस्य तथा ICT विकास समितिकी अध्यक्ष एवं Genese Solution की बिजनेस हेड सुश्री सुनैना घिमिरे पाण्डेको धन्यवाद मन्तव्यबाट भएको थियो। कार्यक्रममा योगदान पुर्याउनुभएकोमा श्री कुँवरलाई सम्मानस्वरूप NICCI का उपाध्यक्ष श्री कुणाल कायलले कृतज्ञताको चिनोसमेत प्रदान गर्नुभएको थियो।
छलफलले प्रविधिको प्रयोग र विस्तारमा मात्र सीमित नभई सुदृढ सुशासन, प्रभावकारी साइबर सुरक्षा तयारी, संस्थागत लचकता तथा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोगतर्फ अघि बढ्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।
नेपालको डिजिटल अर्थतन्त्रलाई आकार दिइरहेका उदीयमान प्रविधि तथा समसामयिक विषयमा व्यावसायिक क्षेत्रलाई सूचित गर्दै सार्थक संवादका लागि सहजीकरण गर्ने आफ्नो प्रतिबद्धतालाई NICCI ले पुनः पुष्टि गरेको छ।



प्रतिकृया दिनुहोस्