कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

काठमाडौं । कुमारी बैंक लिमिटेडले Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध हुँदै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ।

PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ। यस पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। PCAF मा आबद्ध भएसँगै कुमारी बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ।

PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्छ। यसको विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दछ।

कुमारी बैंकका लागि PCAF को सदस्य बन्नु आफ्नो व्यापक दिगोपन यात्रामा महत्वपूर्ण प्रगति भएको बैंकले जनाएको छ। यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ।

कुमारी बैंक लिमिटेडका सस्टेनेबल बैंकिङ विभागका प्रमुख श्री अर्पण पौडेलले PCAF मा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “PCAF मा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा हो। हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन सहयोग पुग्नेछ।”

बैंकले दिगो वित्तका अवसर विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने तथा नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

देशभर व्यापक उपस्थिति रहेको कुमारी बैंकले लक्षित समुदायमा दिगो वित्तीय पहललाई विस्तार तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो स्थापित बैंकिङ सञ्जालको उपयोग गर्दै आएको छ। बैंकसँग २७९ शाखा, २८६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२२३ पीओएस टर्मिनल रहेका छन्। यसका साथै डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय Visa कार्ड सेवासमेत उपलब्ध छन्।

ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्दै आएको जनाएको छ। बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै देशव्यापी पहुँचको उपयोग गरी समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Partnership for Carbon Accounting Financials (PCAF) सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो। हाल ७०० भन्दा बढी वित्तीय संस्थाहरू PCAF पहलमा आबद्ध भइसकेका छन्। PCAF मा सहभागी वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि Global GHG Accounting and Reporting Standard विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्ने कार्य गर्दै आएका छन्।