एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ। बैंकको सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाजस्ता कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ।