गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं, २४ भदौ। गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा गृहसचिव शर्मालाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। सो क्रममा गृहसचिव शर्माले प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै परिसरमा वृक्षारोपण गरेका थिए।
निरीक्षणका क्रममा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गरी त्यहाँबाट भइरहेका गतिविधिबारे जानकारी लिएका थिए।
कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारी तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै कर्तव्यपालनाका क्रममा घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
उनले जस्तोसुकै कठिन परिस्थिति र चुनौतीका बाबजुद अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए। प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धान गर्नु रहेको उल्लेख गर्दै उनले सीमित स्रोतसाधन, प्रविधि र दक्ष जनशक्तिका बाबजुद प्रहरीले कानून कार्यान्वयन तथा अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए।
प्रहरी नागरिकसँग सबैभन्दा नजिक रहेर काम गर्ने निकाय भएकाले नागरिकका अपेक्षालाई सम्बोधन गर्दै आफ्नो काम, कर्तव्य र जिम्मेवारी पूरा गर्न सदैव अग्रसर हुनुपर्ने गृहसचिव शर्माले बताए। ऐन तथा कानूनले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न थप सजग, सचेत, इमानदार र कर्तव्यनिष्ठ भएर काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।
उनले नेपाल प्रहरीले अझ व्यावसायिक तथा नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वास अभिवृद्धि गर्दै संगठनलाई थप सक्षम र व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि, प्रविधिको विकास तथा समग्र प्रहरी संगठनको हित र श्रीवृद्धिका लागि गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिव शर्माबाट प्राप्त मार्गदर्शक तथा समयसापेक्ष निर्देशनका लागि आभार व्यक्त गरे। नेपाल सरकार, गृह मन्त्रालयबाट नेपाल प्रहरीलाई निरन्तर अभिभावकत्व र मार्गदर्शन प्राप्त हुँदै आएको उल्लेख गर्दै उनले नेपाल प्रहरीले आफ्ना काम, कर्तव्य पूर्ण अनुशासन, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको बताए।
महानिरीक्षक कार्कीले गृहसचिवबाट प्राप्त निर्देशनलाई थप ऊर्जा र उत्साहका साथ प्रभावकारी रूपमा कार्यक्षेत्रमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत भएका अमर प्रहरी कर्मचारीप्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। भोटेकोशी बाढीमा बेपत्ता भएका प्रहरी कर्मचारीको खोजी तथा अवस्था यकिन गर्न प्रहरी संगठनले उपलब्ध सबै संयन्त्र परिचालन गरी निरन्तर काम गरिरहेको उनले जानकारी दिए।
नेपाल प्रहरीले संविधान तथा ऐन–कानूनले निर्दिष्ट गरेको अधिकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डको परिधिभित्र रही नागरिकको सेवा र सुरक्षामा निष्ठापूर्वक समर्पित हुँदै आएको महानिरीक्षक कार्कीले बताए।
विपद् प्रतिकार्य, खोज तथा उद्धारलगायतका कार्यमा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसँग स्रोतसाधनको अभाव रहेको उल्लेख गर्दै उनले तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउधनको सुरक्षा तथा उद्धार गर्न प्रहरीलाई समयसापेक्ष प्रविधि र स्रोतसाधनयुक्त बनाउन गृह मन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताए।
विश्वव्यापी अपराधका चुनौती तथा जोखिम न्यूनीकरणका लागि समयानुकूल प्रविधि, क्षमता अभिवृद्धि र पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले संगठनलाई थप व्यावसायिक र मर्यादित बनाउन आगामी दिनमा पनि गृह मन्त्रालयको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।
निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले गृहसचिव शर्मासमक्ष नेपाल प्रहरीको परिचय, संगठनात्मक संरचना तथा विकासक्रम, प्रहरी जनशक्ति, प्रहरी इकाइको संख्या, भौतिक संरचना, अपराध अनुसन्धानका तथ्यांक तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, इन्टरपोल शाखाका गतिविधि, वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणमा प्रहरी परिचालन तथा कारबाहीका क्रममा देखिएका चुनौती र समस्या, भोटेकोशी बाढीपछिको उद्धार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षालगायतका विषय समेटिएका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो। सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिको समेत भर्चुअल सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ।
स्रोत/तस्बिर : नेपाल प्रहरी प्रधान कार्यालय



प्रतिकृया दिनुहोस्