सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख गगन सिंह घिमिरेले फेसबुक लगायतका सामाजिक सञ्जालमा देखिने भ्रामक तथा अनधिकृत विज्ञापनहरूप्रति सम्पूर्ण ग्राहकहरूलाई सजग र सतर्क रहन विशेष आग्रह गर्नुभएको छ।
पछिल्लो समय बैंकको नाम र आधिकारिक लोगो दुरुपयोग गरी १०,००० रुपैयाँ बोनस दिने, अनलाइन सर्भेमा भाग लिन लगाउने तथा अन्य विभिन्न प्रलोभन देखाएर नक्कली (फिसिङ) लिङ्कहरू फैलाउने क्रम बढेकाले बैंकले सूचना जारी गर्दै ध्यानकर्षण गराएको छ।
सामाजिक सञ्जालमा देखिने त्यस्ता भ्रामक विज्ञापन वा पोस्टमा क्लिक गर्दा ग्राहकहरू राष्ट्रिय वाणिज्य बैंककै जस्तो हुबहु देखिने तर अर्कै (अपरिचित) लिङ्क भएको नक्कली वेबसाइटमा पुग्ने गरेका छन्। उक्त नक्कली पोर्टलमा सर्भे पूरा गर्ने वा बोनस रकम दाबी गर्ने बहानामा प्रयोगकर्ताको मोबाइल नम्बर र पासवर्ड माग्ने गरिन्छ।
ग्राहकले विवरण भरेपछि ठगीकर्ताहरूले बैंकको वास्तविक प्रणालीमा लगइन प्रयास गर्छन् र ग्राहकको मोबाइलमा आउने ओटीपी (OTP) कोड बोनस खातामा हाल्नका लागि भन्दै मागेर खाताको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने गरेको पाइएको छ।
बैंकले आफ्ना आधिकारिक सेवाहरूका लागि मात्र निश्चित वेब ठेगाना प्रयोग हुने स्पष्ट पारेको छ। राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक डिजिटल बैंकिङ पोर्टल digitalsansar.rbb.com.np मात्र रहेको हुँदा अन्य कुनै पनि शंकास्पद वा अपरिचित लिङ्कमा क्लिक नगर्न अनुरोध गरिएको छ।
साथै, बैंकले फेसबुक वा अन्य कुनै अनलाइन माध्यमबाट बोनस बाँड्ने, सर्भे गराउने वा केवाईसी (KYC) अपडेट गराउने जस्ता कार्य नगर्ने जनाएको छ। यस्ता सबै कार्यहरू बैंकका आधिकारिक शाखाहरू वा verified माध्यमबाट मात्र हुने भएकाले फ्रि-मा पाइने लोभमा नपरी आफ्नो गोपनीयता (पासवर्ड, ओटीपी) कसैसँग सेयर नगर्न बैंकले जोड दिएको छ।



प्रतिकृया दिनुहोस्