चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ।
पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेकी थिइन्।
नयाँ राजनीतिक यात्राका क्रममा जय नेपाल पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएसँगै अधिकारीले आफूलाई अवसरसँगै चुनौतीपूर्ण जिम्मेवारी पनि प्राप्त भएको प्रतिक्रिया दिएकी छन्। महिला सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्राप्त जिम्मेवारीलाई उनले अवसरका रूपमा लिएको बताएकी छन्।
महिला संगठनको नेतृत्वमा अधिकारीको आगमनसँगै पार्टीले महिला सहभागिता विस्तार, संगठन सुदृढीकरण र देशभरका महिलालाई राजनीतिक अभियानमा जोड्ने अपेक्षा गरेको छ।
यसैगरी, सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई मनोनयन गरेका छन्।
सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले सदस्य सचिवमा धनसुर शाही तथा सदस्यहरूमा अञ्जना शाह रावल र सुमिरा कार्कीलाई मनोनयन गरेका छन्। उक्त समितिले केन्द्रीय तहका विभिन्न विभाग तथा समितिहरूको सुपरिवेक्षण गर्नेछ।
त्यस्तै, सम्पर्क समाज विभागका संयोजक फणीराज (राजु) लोहनीले सदस्य सचिवमा रवि राज रञ्जित तथा सदस्यमा शिवराज रोकायालाई मनोनयन गरेका छन्।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय विभागहरू गठन तथा विस्तारको काम अघि बढिरहेको छ। अब पार्टीले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै जिल्ला कार्यसमितिहरू गठन गर्ने तयारी गरेको छ।
तदर्थ जिल्ला समितिहरू गठनका लागि पनि चाँडै जिम्मेवारी तोकिने लावतीले जानकारी दिएका छन्।
महिला नेतृत्वलाई थप सशक्त बनाउने जिम्मेवारीसहित चम्पा अधिकारीको नयाँ राजनीतिक यात्राले जय नेपाल पार्टीको संगठन विस्तारमा समेत नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्