विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको बाढीलगायत हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्वीर, भिडियो र व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद् तथा दुर्घटनाबाट प्रभावित बालबालिकाको तस्वीर, भिडियो तथा दृश्य सामग्री प्रकाशन वा प्रसारण गर्दा उनीहरूको मानसिक अवस्थामा नकारात्मक असर नपर्ने गरी विशेष सावधानी अपनाउन सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

प्रहरीले पीडित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार वा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ। यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मनोवैज्ञानिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने प्रहरीको भनाइ छ।

त्यस्तै, बालबालिका असहाय वा रोइरहेको अवस्थाका तस्वीर तथा भिडियो सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने उद्देश्यले सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ। बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने तथा उनीहरूको पीडालाई थप प्रचार गर्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्नसमेत भनिएको छ।

मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटनाको पुनःस्मरण गराउने वा उनीहरूलाई पुनःपीडित महसुस हुने किसिमका सामग्री तयार नगर्न पनि प्रहरीले सचेत गराएको छ। बालबालिकाको पहिचान खुल्ने तस्वीर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलताबिना पुनःप्रसारण, सम्पादन वा अन्य स्वरूपमा प्रयोग नगर्न आग्रह गरिएको छ।

प्रहरीले विपद्को समयमा फोटो तथा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। सामाजिक सञ्जालमा प्राप्त तस्वीर तथा भिडियोको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोर्ट वा फर्वार्ड नगर्न पनि अनुरोध गरिएको छ।

नेपाल प्रहरीले बालबालिकाको सुरक्षा, संरक्षण, गोपनीयता र सर्वोत्तम हित सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, प्रचलित कानून, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ को पालना गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रहरीले “बालबालिकाको पीडालाई प्रचारको होइन, संरक्षण र सहयोगको विषय बनाऔँ” भन्ने सन्देशसमेत दिएको छ।