मौरिससदेखि यूएईसम्म पठाइदिन्छु भन्दै २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

मौरिससदेखि यूएईसम्म पठाइदिन्छु भन्दै २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै मौरिसस, कम्बोडिया, रोमानिया र यूएई पठाइदिन्छु भन्दै चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनोहर मुडभरी, अनिल मल्ल, कमला पौडेल सुनार र तुलसीराम ढुंगेल रहेका छन्। उनीहरूले क्रमशः ३ लाख ५० हजार, ८ लाख ८४ हजार, ६ लाख र ६ लाख रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको वैधानिकता र कागजात अनिवार्य जाँच गर्नुहोस्।