बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
काठमाडौँ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन घडीमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
यो सहयोग कम्पनीको मात्र नभई सम्पूर्ण सिटिजन परिवारको साझा प्रयासको प्रतिफल भएको कम्पनीले जनाएको छ। कोषमा हस्तान्तरण गरिएको कुल रकममध्ये सिटिजन लिडर्स (अभिकर्ता) हरूका तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ तथा कम्पनीका कर्मचारीहरूका तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ सङ्कलन गरिएको छ। बाँकी रकम कम्पनीको संस्थागत कोषबाट योगदान गरिएको हो।
कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दीपबहादुर बी.सी.सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेको हो। कार्यक्रममा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
कम्पनीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको सुरक्षित उद्धारको अपेक्षा गरेको छ।
विपद्को यस कठिन अवस्थामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीहरूको प्रशंसा गर्दै सिटिजन लाइफले धन्यवाद ज्ञापन गरेको छ।
सामाजिक सहयोगसँगै सिटिजन लाइफले प्रभावित क्षेत्रका आफ्ना बीमित तथा तिनका परिवारको अवस्था बुझ्न स्थानीय अभिकर्ता र कर्मचारीहरूलाई परिचालन गरिसकेको जनाएको छ। बाढी तथा विपद्बाट प्रभावित बीमितहरूलाई सहज, छिटो र प्रभावकारी रूपमा बीमा दाबी भुक्तानी उपलब्ध गराउन कम्पनीले विशेष समन्वय तथा सहजीकरण सुरु गरेको जानकारी दिएको छ।



प्रतिकृया दिनुहोस्