अवैध भिओआइपी सञ्चालनमा संलग्न चार जना पक्राउ, ठूलो परिमाणमा उपकरण र सिमकार्ड बरामद

अवैध भिओआइपी सञ्चालनमा संलग्न चार जना पक्राउ, ठूलो परिमाणमा उपकरण र सिमकार्ड बरामद

काठमाडौं, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेहरूमा गोरखा घर भई काठमाडौंको जयबागेश्वरी बस्ने २२ वर्षीय प्रोशेस गुरुङ, शंखरापुर नगरपालिका–१ घर भई काठमाडौंको गणेशस्थान बस्ने २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर घर भई भक्तपुरको सूर्यविनायक बस्ने २१ वर्षीय जेनित झुकाल र भक्तपुर सूर्यविनायक–१ का ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ११२ पोर्टका ५ थान र १६ पोर्टका २ थान भिओआइपी डिभाइस, ३ थान ल्यापटप, १९५ थान सिमकार्ड, १६ थान ब्याट्री, इन्भर्टर, युपिएस, राउटर, इन्टरनेट हब लगायतका उपकरण बरामद गरेको जनाएको छ।

प्रोशेस गुरुङ र मुना श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिन तथा जेनित झुकाल र कृष्ण नगरकोटीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अवैध भिओआइपी सञ्चालनले राज्यको राजस्वमा नोक्सानी पुर्‍याउने तथा दूरसञ्चार प्रणालीमा असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।