न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ

काठमाडौं | श्रावण १२, २०८३, वैदेशिक रोजगारीका नाममा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्दै आएका रुपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ बस्दै आएका ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्।

प्रहरीका अनुसार राजकुमार भण्डारीले न्यूजिल्याण्ड पठाइदिने भन्दै दुई जना पीडितबाट रु. ३ लाख ठगी गरेका थिए भने सुरेश घिमिरेले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट रु. १८ लाख लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले राजकुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका–१० र सुरेशलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।