प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
काठमाडौं | श्रावण १२, २०८३, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धनुषास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन गर्नुभएको छ। शनिबार आयोजित कार्यक्रममा उहाँले भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नयाँ भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति राज्यको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा सेवा केन्द्रले पीडितमैत्री, पीडितकेन्द्रित, व्यावसायिक तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका संवेदनशील वर्ग भएकाले उनीहरूमाथि हुने अपराध न्यूनीकरण गर्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्नु सबै सरोकारवाला निकायको साझा दायित्व भएको उल्लेख गर्नुभयो। साथै, भौतिक पूर्वाधार निर्माणमा UNOPS ले पुर्याएको सहयोगको प्रशंसा गर्दै नवनिर्मित भवनले प्रहरी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरिएको थियो। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का अपरेसन कोअर्डिनेटर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। साथै, वरिष्ठ इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
UNOPS को सहयोगमा रु. ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रुपैयाँ १६ पैसा लागतमा निर्माण सम्पन्न भएका यी भवनहरूको उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, राजनीतिक दल, विभिन्न संघसंस्था, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
(Photo: Nepal Police)



प्रतिकृया दिनुहोस्