झापा–५ : १५ वर्षमा विकासको उदाहरण, भविष्य उज्जवल

झापा–५ : १५ वर्षमा विकासको उदाहरण, भविष्य उज्जवल

झापा, माघ २२ – पछिल्ला १५ वर्षमा झापा क्षेत्र नं. ५ मा सडक, पुल, शिक्षा, कृषि र औद्योगिक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ। यस क्षेत्रमा भौतिक विकाससँगै सामाजिक र आर्थिक क्रियाकलापले पनि जीवनस्तर सुधारिएको स्थानीयवासी बताउँछन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यहाँको विकासले स्पष्ट दिशा पाएको र भविष्यको नक्सा तयार गरेको स्थानीयहरू बताउँछन्। रतुवा, कमल, मावा लगायतका नदीमा बनाइएका पक्की र झोलुङ्गे पुलले ग्रामीण बस्तीलाई बजार, शिक्षा र स्वास्थ्यसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।

सडक विस्तारका योजनाले नगर र ग्रामीण क्षेत्रबीच दूरी घटाएको छ। दमक–मधुमल्ला, दमक–ढुकुरपानी सडक जस्ता परियोजनाले आवतजावत सहज बनाएको छ। साथमा रतुवा नदीमा निर्माणाधीन तटबन्ध र कमल खोलाको तटबन्धले बस्ती र कृषियोग्य जमिन सुरक्षित भएको छ।

सहरी विकासतर्फ दमक बजार सौन्दर्यीकरण, नदी ब्युटिफिकेसन, सिवेज ढल प्रणाली र नमुना बस्ती निर्माणले जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ। गौरादह स्मार्ट सिटी परियोजनाले पर्यटन र वातावरणीय सन्तुलनमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

कृषि र औद्योगिक क्षेत्रमा नमुना सहकारी खेती र नयाँ उद्योग क्षेत्र निर्माणका पहलले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई बलियो बनाएको छ। शिक्षा क्षेत्रमा पनि गौरादह कृषि क्याम्पस, दमक बहुमुखी क्याम्पस र स्थानीय विद्यालयहरूको पूर्वाधार विस्तारले युवा पुस्तालाई नयाँ अवसर दिएको छ।

स्थानीय अगुवाहरूका अनुसार, यी सबै योजनाले झापा–५ लाई भौतिक मात्र होइन, सामाजिक, आर्थिक र शैक्षिक रूपमा पनि सुदृढ बनाएकोछ। विकास केवल सडक र पुलमा सीमित नभई जीवनस्तर सुधार, रोजगार र शिक्षासँग जोडिएको छ।

पछिल्ला १५ वर्षमा देखिएको यो विकास यात्रा झापा–५ लाई पूर्वी नेपालको एक उदीयमान केन्द्रको रूपमा स्थापित गर्ने विश्वास स्थानीयवासी राख्छन्।


Source : Nabaraj Pathik