देवघाटधाममा ऐतिहासिक हवनात्मक शतचण्डी महायज्ञ
गलेश्वर आश्रमको ९००औँ शताब्दीको पावन अवसरमा भव्य धार्मिक अनुष्ठान
चितवन, देवभूमि नेपालकै पवित्र त्रिवेणी संगमस्थल देवघाटधाम एकपटक फेरि आध्यात्मिक ऊर्जा र वैदिक अनुष्ठानले गुन्जायमान हुने भएको छ। अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वरबाबाको ध्यान, तपस्या र साधनाबाट दीर्घकालदेखि उज्यालो फैलाउँदै आएको गलेश्वर आश्रम ले आफ्नो ९००औँ शताब्दी को पावन अवसरमा भव्य हवनात्मक शतचण्डी महायज्ञ आयोजना गर्न लागेको हो।
गलेश्वर आश्रम, देवघाटधाममा आयोजना हुन गइरहेको यो महायज्ञ वि.सं. २०८२ माघ १८ गतेदेखि फाल्गुन १७ गतेसम्म (३० दिन) अर्थात् १ फेब्रुअरीदेखि १ मार्च २०२६ सम्म निरन्तर सञ्चालन हुनेछ। वैदिक विधि, मन्त्र, हवन र साधनाबाट सम्पन्न हुने यस महायज्ञले धर्म, शान्ति, समृद्धि र विश्वकल्याणको कामना गरिनेछ।
पुण्यभूमिमा महाशक्तिको अनुभूति
सदियौँदेखि योग, तपस्या र आध्यात्मिक साधनाको केन्द्र रहँदै आएको गलेश्वर आश्रमलाई ‘जीवो ब्रह्म’ र ‘पशुपतये नमः’ जस्ता सनातन वैदिक दर्शनले अझ पवित्र बनाउँदै आएको छ। “यं यं चिन्तयते कामं, तं तं प्राप्नोति निश्चितम्” भन्ने वैदिक वाक्यअनुसार, श्रद्धा र संकल्पसहित सहभागी हुने भक्तजनले आध्यात्मिक शान्ति र पुण्यलाभ प्राप्त गर्ने विश्वास गरिएको छ।
सम्पूर्ण भक्तजनमा हार्दिक निमन्त्रणा
यस ऐतिहासिक धार्मिक अनुष्ठानमा देश–विदेशका समस्त भक्तजन, साधक, श्रद्धालु तथा धर्मप्रेमी महानुभावहरूलाई सहभागी भई पुण्यलाभ लिन गलेश्वर आश्रमले हार्दिक आह्वान गरेको छ।
महायज्ञको आयोजना महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, गलेश्वर आश्रमका पीठाधिश तथा अध्यक्षको आध्यात्मिक नेतृत्वमा हुन गइरहेको हो।
आयोजक तथा सम्पर्क
गलेश्वर आश्रम, देवघाटधाम
फोन: ०५६–५०००२५
मोबाइल: ९८४५०८२३३५
इमेल: galeshwar.ashrama@gmail.com
सनातन धर्म, वैदिक संस्कार र आध्यात्मिक चेतनाको संरक्षण र प्रवर्द्धनमा यो महायज्ञ एक ऐतिहासिक अध्याय बन्ने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्