प्रेस सेन्टर नेपाल २२औं वर्षमा प्रवेश : परिवर्तनको पक्षमा शक्तिशाली कलम, जनताको पक्षमा निर्भीक पत्रकारिता
काठमाडौं । देशको परिवर्तनकारी इतिहाससँग गहिरो रूपमा जोडिएको प्रेस सेन्टर नेपाल (PCN) को आज आफ्नो २२औं स्थापना दिवसको अवसरमा अध्यक्ष कमल गिरीद्वारा विशेष शुभकामना सन्देश जारी गरिएको छ। उक्त सन्देशमार्फत उहाँले संगठनको गौरवशाली यात्रा र आगामी दिशाप्रति स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।
२०६१ साल माघ १५ गते रोल्पाको ऐतिहासिक इरिबाङमा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ का रूपमा जन्मिएको प्रेस सेन्टर नेपाल आज जनपक्षीय, जिम्मेवार र परिवर्तनमुखी पत्रकारिताको देशकै अग्रणी संस्थाका रूपमा स्थापित भएको छ। ऐतिहासिक जनयुद्धको गर्भबाट जन्मिएको यो संगठनले दुई दशकभन्दा बढी समयदेखि लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र प्रेस स्वतन्त्रताको पक्षमा अविचल आवाज बुलन्द गर्दै आएको छ।
स्थापना दिवसको अवसरमा परिवर्तनका लागि कलम चलाउँदै जीवन बलिदान दिनुभएका आदर्श पत्रकार महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहित सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
प्रेस सेन्टर नेपालले आफ्नो ऐतिहासिक यात्रामा संगठनलाई यो उचाइमा पुर्याउन योगदान पुर्याउने संस्थापक नेतृत्व, पूर्वअध्यक्ष/संयोजक, पूर्वपदाधिकारी, वर्तमान केन्द्रीय समिति, प्रदेश तथा जिल्ला नेतृत्व, सम्पूर्ण सदस्यप्रति हार्दिक आभार र सम्मान व्यक्त गरेको छ।
जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक बलमा एकात्मक केन्द्रिकृत राजतन्त्र अन्त्य गर्दै संविधानसभामार्फत् समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणसम्मको यात्रामा प्रेस सेन्टर नेपालले जिम्मेवार सञ्चार सेतुको ऐतिहासिक भूमिका निर्वाह गरेको संगठनले स्पष्ट पारेको छ। नेपालको जनपक्षीय पत्रकारिताको विकासमा संगठनले खेलेको योगदान आज राष्ट्रिय रूपमा व्यापक रूपमा स्वीकारिएको छ।
हाल प्रगतिशील, वामपन्थी तथा परिवर्तनकारी शक्तिहरूबीच देखिएको ऐतिहासिक एकताले आम नेपाली जनतामा नयाँ आशा, भरोसा र सकारात्मक ऊर्जा पैदा गरेको संगठनको ठहर छ। उक्त जनआशालाई नीति, नेतृत्व र कार्यान्वयनको तहसम्म पुर्याउने ऐतिहासिक सञ्चार दायित्व प्रेस सेन्टर नेपालले अझ सशक्त, अनुशासित र एकीकृत रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
२२औं स्थापना दिवसको अवसरमा संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्रको सुदृढीकरण तथा उत्पीडित जनताको आवाजलाई सशक्त रूपमा मुखरित गर्ने अटल संकल्प पुनः दोहोर्याइएको छ।
प्रेस सेन्टर नेपाल – परिवर्तनको पक्षमा शक्तिशाली कलम, जनताको पक्षमा निर्भीक पत्रकारिता।



प्रतिकृया दिनुहोस्