लोकतन्त्रको नयाँ अभ्यासतर्फ संकेत: गगन र बालेनसँग खुला बहसका लागि ओली तयार
काठमाडौं – भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच प्रत्यक्ष प्रसारण हुने सार्वजनिक बहसको माग चर्किँदै गएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो बहसका लागि आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट सन्देश दिएका छन्।
शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा ओलीले प्रधानमन्त्री बन्न चाहने नेताहरू एउटै मञ्चमा उभिएर जनतामाझ आफ्ना विचार, योजना र दृष्टिकोण प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।
“प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूबीच खुला संवाद र लाइभ पब्लिक डिबेट आवश्यक छ,” ओलीले भने, “किन प्रधानमन्त्री हुनुपर्ने र देशका लागि के गर्ने भन्ने कुरा जनताले सुन्न पाउनुपर्छ।”
पत्रकारले पुनः “तपाईं तयार हुनुहुन्छ?” भनेर सोध्दा ओलीको उत्तर स्पष्ट र आत्मविश्वासी थियो—
“बिल्कुल।”
नेकपा एमालेले अध्यक्ष ओलीलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ। उता, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले सभापति गगन थापालाई अघि सारेको छ।
तीन प्रमुख राजनीतिक शक्तिहरूले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेसँगै उनीहरूलाई एउटै मञ्चमा राखेर बहस गरिनुपर्ने आवाज बलियो बन्दै गएको छ। ओलीको यो अभिव्यक्तिले नेपाली राजनीतिमा विचारको प्रतिस्पर्धा, पारदर्शिता र लोकतान्त्रिक अभ्यासलाई नयाँ ऊर्जा दिने संकेतका रूपमा हेरिएको छ।
यदि यो बहस आयोजना भयो भने, नेपाली राजनीतिमा दुर्लभ मानिने प्रत्यक्ष र खुला बहसले जनतालाई नेतृत्व छनोटमा अझ सचेत बनाउने विश्वास गरिएको छ।



प्रतिकृया दिनुहोस्