युवाको आशा, नयाँ राजनीतिक अनुहार : सोनी भट्टराई गोरखा–१ बाट चुनावी मैदानमा
गोरखा ३ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनमा सामाजिक अभियानी सोनी भट्टराई ले गोरखा–१ बाट उम्मेदवारी दिने भएकी छन्। लामो समयदेखि सामाजिक न्याय, बालअधिकार र युवाको आवाजका रूपमा परिचित भट्टराईको राजनीतिक प्रवेशलाई युवा पुस्ताको आशाजनक कदम का रूपमा हेरिएको छ।
गोरखाकै छोरी, गोरखाकै प्रतिनिधित्व
गोरखाको नारेश्वर घर भएकी सोनी भट्टराई यसपटक आफ्नै जन्मभूमिबाट चुनाव लड्न लागेकी हुन्। उनी निकट स्रोतका अनुसार “गोरखालाई परिवर्तनको मोडमा लैजाने दृढ संकल्पसहित” उनी मैदानमा उत्रन लागेकी हुन्।
बालअधिकारको अग्रपंक्तिमा लड्दै आएकी अभियानी
बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टराई काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्य का रूपमा समेत कार्यरत रहिसकेकी छन्।
साहसी कदम : नाबालिका उद्धारमा अग्रसर
उनको नेतृत्वमा रहेको समूहले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेर राष्ट्रिय स्तरमै चर्चा पाएको थियो। यो घटनाले उनलाई साहसी, निर्भीक र न्यायका पक्षमा उभिने अभियानी का रूपमा स्थापित गराएको छ।
पढाइ, अभ्यास र नेतृत्वको संयोजन
राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षक का रूपमा युवालाई लोकतन्त्र र नेतृत्वबारे प्रशिक्षित गरिरहेकी छन्।
पुरानो राजनीतिमा नयाँ ऊर्जा ?
सोनी भट्टराईको उम्मेदवारीले गोरखा–१ मा युवा, सचेत र वैकल्पिक राजनीतिप्रतिको बहस तातेको छ। अब प्रश्न उठेको छ—
के गोरखा–१ बाट संसदमा युवाको बलियो आवाज पुग्नेछ ?



प्रतिकृया दिनुहोस्