माघीले अन्धकार हटाएर समृद्धिको नयाँ युग ल्याओस् : प्रचण्ड
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा मकर सङ्क्रान्तिले देशको अन्धकार हटाउँदै प्रगति र समृद्धिको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।
माघी तथा माघे सङ्क्रान्तिको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले थारु समुदायको मुख्य पर्व माघी र मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामनादिएका हुन्।
प्रचण्डले माघी र माघे सङ्क्रान्तिलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको प्रतीकका रूपमा उल्लेख गर्दै यी पर्वले विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश दिने बताए।
उत्तरायण सुरु भएसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक नियमलाई उनले राष्ट्रिय जीवनसँग जोड्दै, अब देशको जीवनबाट पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरे।
तराईदेखि हिमालसम्म परिवारसँग बसेर खिचडी, घिउ, चाकु र तरकारीका परिकार खाँदै मनाइने यो पर्वले आपसी आत्मीयता र सामूहिक भावना बलियो बनाउने प्रचण्डको भनाइ छ।
शुभकामना सन्देशमार्फत उनले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।



प्रतिकृया दिनुहोस्