माघी र माघे सङ्क्रान्तिले जोड्छ नेपाली मन : एकताको सन्देश दिए झलनाथ खनालले

माघी र माघे सङ्क्रान्तिले जोड्छ नेपाली मन : एकताको सन्देश दिए झलनाथ खनालले

काठमाडौँ
माघी र माघे सङ्क्रान्ति नेपाली समाजलाई जोड्ने साझा पर्व भएको पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्। पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै खनालले यस्ता पर्वहरूले भिन्न समुदायलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने बताएका छन्। हिमाल, पहाड र तराईका समुदायले आ–आफ्ना मौलिक परम्पराअनुसार मनाउने माघी र माघे सङ्क्रान्ति आज राष्ट्रिय एकताको प्रतीक बनेको उनको भनाइ छ।

उनका अनुसार यी पर्वहरू उधौली र उभौलीको सीमासमेत भएकाले प्रकृति, समयचक्र र मानव जीवनबीचको सन्तुलन झल्काउँछन्। यसले समाजमा भाइचारा, सहिष्णुता, सद्भाव र पारस्परिक सम्मानलाई अझ बलियो बनाउने खनालले बताए।

“यस्ता सांस्कृतिक पर्वहरूले नेपाली समाजलाई सकारात्मक दिशामा अघि बढाउन ऊर्जा दिन्छन्,” खनालको सन्देशमा उल्लेख छ।

माघी र माघे सङ्क्रान्ति मनाउने यो अवसरले नेपालीबीच आपसी एकता, सांस्कृतिक गर्व र साझा पहिचान झन् मजबुत बनाउने अपेक्षा गरिएको छ।