आफ्नै गाउँ, आफ्नै कथा’ बोकेको नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण बैशाखमा हुँदै

आफ्नै गाउँ, आफ्नै कथा’ बोकेको नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण बैशाखमा हुँदै

काठमाडौँ।
नेपाली मौलिक ग्रामीण कथावस्तु, संस्कृति र जीवनशैलीलाई पर्दामा उतार्दै आएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (Nepal Rural Film Festival) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ।

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठान ले आइतबार जारी गरेको विज्ञप्ति अनुसार महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथामा आधारित चलचित्रहरू दर्ताका लागि आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्नेछन्।

प्राप्त चलचित्रहरूमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका उत्कृष्ट चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्ने, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, साथै स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, कार्यशाला तथा गोष्ठीहरू समेत सञ्चालन गरिने आयोजक रघुनाथ सापकोटा ले जानकारी दिनुभयो।
“हामी महोत्सवमार्फत नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रलाई प्राथमिकता दिँदै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँसम्म पनि चलचित्र संस्कार फैलाउने विश्वास लिएका छौँ,” सापकोटाले बताउनुभयो।

यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र सुवा मा सफलतापूर्वक सम्पन्न भइसकेको छ। पाँचौँ संस्करण आयोजना हुने स्थान भने चाँडै तय गरिने महोत्सव संयोजक कमल एक्चै मगर ले जानकारी दिनुभयो।

चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुन लागेको यो महोत्सव नेपाली ग्रामीण चलचित्रको पहिचान र प्रवर्द्धनका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै गएको छ।