निर्वाचनको सरगर्मी बढ्दै : सञ्चारमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

निर्वाचनको सरगर्मी बढ्दै : सञ्चारमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

ललितपुर, पुस २३ — निर्वाचन नजिकिँदै जाँदा राजनीतिक भेटघाटले तीव्रता लिएको छ। यसैक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच महत्वपूर्ण भेटवार्ता भएको छ।

ललितपुरको लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ। भेटमा निर्वाचनको वातावरण निर्माणका विषयमा केन्द्रित रहेर छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभएको छ।

मन्त्री खरेलका अनुसार निर्वाचन गराउन राप्रपा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश अध्यक्ष लिङ्देनले दिनुभएको थियो।

प्रमुख दलका नेतासँग निरन्तर संवाद

निर्वाचनको वातावरण सहज बनाउन सरकारका प्रवक्ताको हैसियतमा मन्त्री खरेलले यसअघि पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग उनीहरूको निवासमै पुगेर भेटवार्ता गरिसक्नु भएको बताइएको छ। पछिल्लो भेटलाई सोही श्रृंखलाको निरन्तरता मानिएको छ।

राजनीतिक संकेत के?

सत्तामा रहेका मन्त्री र विपक्षी दलका अध्यक्षबीच भएको यो भेटलाई लिएर राजनीतिक समीकरण, सम्भावित सहकार्य र निर्वाचनको मिति घोषणाबारे अड्कलबाजी सुरु भएको छ।

सोशल मिडियामा पनि यो भेटलाई लिएर बहस चर्किएको छ—
निर्वाचन सुनिश्चित गर्ने प्रयास कि राजनीतिक सहमतिको नयाँ संकेत?

आगामी दिनमा यस्ता भेटवार्ताले निर्वाचनको दिशा र राजनीतिक तापक्रम थप बढाउने संकेत देखिएको छ।


Source : CB Adhikari