भारतबाट फर्किएलगत्तै सक्रिय प्रचण्ड, राष्ट्रिय सभालाई लिएर आन्तरिक छलफल तीव्र

भारतबाट फर्किएलगत्तै सक्रिय प्रचण्ड, राष्ट्रिय सभालाई लिएर आन्तरिक छलफल तीव्र

काठमाडौं, २२ पुस।
भारत भ्रमणबाट स्वदेश फर्किएलगत्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक राजनीतिक छलफलमा व्यस्त भएका छन्। नयाँदिल्लीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार भारत गएका प्रचण्ड सोमबार राति काठमाडौं फर्किएका थिए।

दिल्ली बसाइका क्रममा प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। भ्रमण सकिएलगत्तै उनी आज बिहानैदेखि पार्टीभित्रका नेताहरूसँग निरन्तर छलफलमा जुटेका छन्।

प्रचण्डको सचिवालयका अनुसार राष्ट्रिय सभाको निर्वाचन मुख्य एजेन्डा बनाएर छलफल भइरहेको छ। “राष्ट्रिय सभाको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा आन्तरिक छलफल चलिरहेको छ,” सचिवालय स्रोतले जनाएको छ। यस क्रममा अन्य दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुन सक्ने स्रोतको दाबी छ।

विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने विषयमा शीर्ष तहमा अनौपचारिक संवाद भइरहेको छ। स्रोतका अनुसार एमालेले ७ सिट, कांग्रेसले ७ सिट र नेकपाले ४ सिट पाउने गरी सिट बाँडफाँटको मोडेलमा छलफल भइरहेको छ।

तर प्रचण्डले उक्त मोडेलमा मधेश प्रदेशका साना दलहरूलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेका छन्। मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने उनको धारणा रहेको बताइन्छ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले “सम्मानजनक सिट सुनिश्चित भए राष्ट्रिय सभामा सहकार्य गर्न सकिन्छ” भन्ने स्पष्ट सन्देश दिएका छन्। राष्ट्रिय सभाको समीकरणलाई लिएर शीर्ष नेताहरूबीचको भेटघाट र संवाद आगामी दिनमा अझ तीव्र हुने संकेत देखिएको छ।