ओलीले लिखित बयान दिएसँगै ‘स्थानहद’मा निर्णयको घडी, आयोग बैठकको तयारीमा
काठमाडौँ
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएसँगै अब आयोग स्थानहद (Jurisdiction) को विषयमा निर्णायक मोडमा पुगेको छ। जाँचबुझ आयोगले यस विषयमा बैठक बसेर केही दिनमै निर्णय गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओलीलाई पत्र बुझाउन पुगेको टोलीले लिखित जवाफ लिएर फर्किएको पुष्टि गरेका छन्। आइतबार आयोगको टोली भक्तपुरस्थित गुण्डु निवासमै पुगेर ओलीको लिखित बयान लिएको थियो।
आयोगका अनुसार अब ओलीले दिएको लिखित जवाफको गहिरो अध्ययन गरेर स्थानहद लागू हुने–नहुने विषयमा निर्णय गरिनेछ। यसअघि ओलीले सार्वजनिक मञ्चबाट आयोगलाई बयान नदिने घोषणा गर्दै, बोलाउन आए सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका थिए। तर पछिल्लो समय भने आफ्नै निवासमा आए लिखित जवाफ दिने अडान लिएका थिए।
त्यसपछि आयोगले लिखित प्रश्न तयार गरी गुण्डु निवासमा पत्र पठाएको थियो। यदि जवाफ नआए आयोगले जरिवाना तिराएर छाड्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ।
जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाको कारण पहिचान गरी छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने अधिकार छ। आयोगले कुनै पनि व्यक्तिलाई बयानका लागि बोलाउन, प्रमाण संकलन गर्न तथा लिखत वा विवरण पेस गर्न आदेश दिन सक्ने कानुनी अधिकार राख्छ।
मागिएको विवरण नदिने वा अटेर गर्ने व्यक्तिलाई कारबाही सिफारिस गर्न सकिने र अवहेलनामा ५०० रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार पनि आयोगलाई ऐनले दिएको छ।
अब आयोगको निर्णयले राजनीतिक वृत्तमा थप तरंग ल्याउने निश्चित देखिएको छ।



प्रतिकृया दिनुहोस्