ढकालको चेतावनी: निजी क्षेत्रको मनोबल न्यून, तत्काल संरक्षण रणनीति ल्याउनुपर्छ

ढकालको चेतावनी: निजी क्षेत्रको मनोबल न्यून, तत्काल संरक्षण रणनीति ल्याउनुपर्छ

काठमाडौं, १६ पुस
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रको मनोबल इतिहासकै न्यून बिन्दुमा पुगेको बताएका छन्।

बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारसँग ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ तत्काल कार्यान्वयनमा ल्याउन माग गरे।

“उद्यमीले सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म लगानी हुँदैन। लगानी नभए रोजगारी हुँदैन। अहिले बैंकहरूसँग ११ खर्ब रुपैयाँ लगानीका लागि तयार छ, तर निजी क्षेत्र ढुक्क छैन।”

आन्दोलनले पुर्‍याएको क्षति

ढकालले भदौ २३–२४ को आन्दोलनमा ४० अर्ब रुपैयाँ प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब व्यावसायिक नोक्सानी भएको तथ्याङ्क सार्वजनिक गरे।

“दोषीहरूलाई कारबाही नगर्नु र दण्डहीनता मौलाउने अवस्था पुँजी पलायनको जोखिम बढाउँछ।”

अर्थतन्त्र र रोजगारीको अवस्था

अध्यक्ष ढकालले पछिल्लो डेढ वर्षमा सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा रहेको र ८१% अर्थतन्त्र, ८६% रोजगारी दिने निजी क्षेत्र सङ्कुचित हुँदा युवाहरू बिदेसिन बाध्य भएको बताए।

उहाँले राजनीतिक दल, मिडिया र निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै, निजी क्षेत्रलाई समृद्धिको सारथी बनाइ निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।