माधव नेपालको चेतावनी: लुटपाट र आगजनीमा संलग्नलाई कारबाही नगर्ने सरकार उदार देखियो

माधव नेपालको चेतावनी: लुटपाट र आगजनीमा संलग्नलाई कारबाही नगर्ने सरकार उदार देखियो

काठमाडौं, १६ पुस
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई सरकारले गम्भीरतापूर्वक कारबाही नगरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उहाँले भने:

“सिसिटिभी क्यामेरा र प्रमाण हुँदाहुँदै पनि दोषीहरू पक्राउ हुँदैनन्, दण्डित हुँदैनन्। चोरीको सामानसहित मान्छे फेला पर्छन्, तर कुनै सजाय हुँदैन। यसले सरकारको कार्यक्षमतामा प्रश्न उठाउँछ।”

उहाँले आन्दोलनको नाममा भएको विध्वंस, आगजनी र लुटपाटलाई सरकारले उदारतापूर्वक हेरिरहेको भन्दै यसले भविष्यमा थप असुरक्षा निम्त्याउने चेतावनी दिए।

सह–संयोजक नेपालले भदौ २३ गतेको जेनजी आन्दोलनका मागहरू–भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा–उचित भए पनि २४ गतेको हिंसा कुनै हालतमा स्वीकार्य नभएको स्पष्ट पारे।

उहाँले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु र संरचनागत सुधारमा ध्यान दिनु रहेको पनि उल्लेख गर्नुभयो।