राजनीतिक निकासको खोजीमा मदन–आश्रित प्रतिष्ठानको ठूलो पहल, ओलीसहित शीर्ष नेताहरू एकै मञ्चमा
काठमाडौं, पुस १४ । देश राजनीतिक अन्यौलतामा फसिरहेका बेला मदन–आश्रित स्मृति प्रतिष्ठानले निर्णायक हस्तक्षेप गर्ने तयारी गरेको छ। प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र वर्तमान राजनीतिक संकटबाट बाहिर निस्कने उपायबारे विशेष विचार गोष्ठी आयोजना गर्ने भएको छ।
मंगलबार राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा हुने गोष्ठीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्, जसले कार्यक्रमलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
गोष्ठीमा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोललगायतका प्रभावशाली नेताहरू वक्ताका रूपमा सहभागी हुनेछन्।
देशको राजनीति निर्णायक मोडमा पुगेको बेला आयोजना हुन लागेको यस कार्यक्रमले राजनीतिक निकासको नयाँ बाटो खोल्ने विश्वास लिइएको छ। सत्ता, प्रतिपक्ष र नयाँ पुस्ताका नेताहरूको एउटै मञ्चबाट आउने सन्देशले राजनीतिक वृत्तमा तरंग ल्याउने निश्चित देखिन्छ।
अब सबैको चासो एउटै प्रश्नमा छ— के यो गोष्ठीले देशको राजनीति सही दिशातर्फ मोड्न सक्छ?



प्रतिकृया दिनुहोस्