संविधान ‘घायल’, सरकार ‘अवैधानिक’ ! कर्णालीका मुख्यमन्त्री कँडेलको विस्फोटक अभिव्यक्ति

संविधान ‘घायल’, सरकार ‘अवैधानिक’ ! कर्णालीका मुख्यमन्त्री कँडेलको विस्फोटक अभिव्यक्ति

काठमाडौँ, पुस ९ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले ‘घायल अवस्थामा’ पुगेको भन्दै वर्तमान सरकारलाई संविधानले नै नचिन्ने सरकार भएको सनसनीपूर्ण टिप्पणी गर्नुभएको छ।

वीरेन्द्रनगरमा आजदेखि सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो,

“अहिलेको सरकार संविधानले नचिन्ने सरकार हो, तर हामी सबैले मान्दै आएको सरकार हो। त्यसैले यस सरकारसँग गुनासो छैन, भन्नु पनि केही छैन।”

निर्वाचन गर्न दल पाखा लगाएर हुँदैन

फागुन २१ गते तोकिएको निर्वाचन मितिप्रति गम्भीर प्रश्न उठाउँदै मुख्यमन्त्री कँडेलले प्रमुख राजनीतिक दललाई पाखा लगाउने सोच त्याग्न सरकार र गृहमन्त्री ओमप्रकाश अर्याललाई कडा सुझाव दिनुभयो।

“दलीय व्यवस्था भएको देशमा दललाई किनारा लगाएर निर्वाचन सम्भव छैन। निर्वाचन चाहिएको हो भने दलहरूसँग सघन संवाद गर्नुहोस्।”

सुरक्षाकर्मी नै त्रसित, चुनाव कसरी ?

भदौ २३ र २४ पछि देशको सुरक्षा अवस्था झन् कमजोर भएको दाबी गर्दै कँडेलले सुरक्षाकर्मीहरू मनोवैज्ञानिक रूपमा त्रसित रहेको बताउनुभयो।

“हातमा हतियार छ, प्रयोग गर्ने कि नगर्ने भन्ने द्विविधामा सुरक्षाकर्मी छन्। यस्तो अन्योलमा कसरी भयरहित निर्वाचन हुन्छ?”

‘Gen-Z’ का नाममा आतङ्क ?

मुख्यमन्त्री कँडेलले ‘Gen-Z’ को नाममा समाजमा आतङ्क सिर्जना गरिएको आरोप लगाउँदै कानून उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही नगरेसम्म शान्ति सुरक्षा बनावटी मात्र हुने चेतावनी दिनुभयो।

“भ्रष्टाचारविरुद्ध युवाको आवाज जायज हो, तर आगजनी र विध्वंस गर्ने माथि कारबाही नभएसम्म शान्ति सुरक्षामा विश्वास गर्न सकिँदैन।”

कर्णालीमा सुरक्षा दयनीय, हाइवेमा ‘असुली चौकी’ ?

कर्णाली प्रदेशमा सुरक्षाकर्मीका लागि आवश्यक पूर्वाधार र साधन स्रोतको अवस्था दयनीय रहेको उल्लेख गर्दै उहाँले कमजोर सडकका कारण दुर्घटना बढेको बताउनुभयो।

सबैभन्दा चर्को आरोप कर्णाली हाइवेबारे थियो —

“सुरक्षा दिन होइन, असुली धन्दा चलाउन जस्तो गरी सुरक्षा पोष्ट राखिएका छन्।”