एमाले ‘बहस क्लब’ बन्दैछ ? सचिव महेश बस्नेतको कडा चेतावनी—महाधिवेशनको फैसला नमाने पार्टी रहँदैन

एमाले ‘बहस क्लब’ बन्दैछ ? सचिव महेश बस्नेतको कडा चेतावनी—महाधिवेशनको फैसला नमाने पार्टी रहँदैन

काठमाडौं, पुस ७ — नेकपा एमालेभित्र बढ्दो आन्तरिक बहस र गतिविधिप्रति पार्टी सचिव महेश बस्नेतले कडा चेतावनी दिनुभएको छ। उहाँले महाधिवेशनबाट भएका निर्णयलाई अन्तिम र सर्वमान्य नमान्ने हो भने एमाले संगठित पार्टी होइन, ‘बहस क्लब’मा सीमित हुने स्पष्ट धारणा राख्नुभएको हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै बस्नेतले राष्ट्रको अभिभावकको भूमिकामा बसेर लोकतान्त्रिक मूल्य र संस्थागत निर्णयको सम्मान गर्नु उपयुक्त हुने बताउनुभएको छ। पार्टीलाई कमजोर बनाउने बहस र गतिविधिमा ऊर्जा खर्च नगर्न उहाँले आग्रह गर्नुभएको छ।

‘महाधिवेशनको फैसला अन्तिम नमान्ने हो भने पार्टी संगठन रहँदैन, बहस क्लब बन्छ’
— महेश बस्नेत

उहाँले एमालेजस्तो अनुशासित र संगठित दललाई ‘क्लब’मा झार्ने प्रयास गलत दिशातर्फ उन्मुख हुनु भएको टिप्पणी गर्नुभयो।
‘एमालेलाई क्लब बनाउने काममा ऊर्जा खर्च नगर्दा राम्रो’, बस्नेतको कडा सन्देश।

राजतन्त्र बहसमा पनि कडा असहमति

लोकतन्त्र र राजतन्त्रसम्बन्धी बहसप्रति पनि बस्नेतले स्पष्ट असहमति जनाउनुभएको छ।
‘लोकतन्त्रको जगमा उभिएर राजतन्त्र फर्कने कल्पना गर्नु आफ्नै विगत, संघर्ष र राजनीतिक धरातलप्रतिको अविश्वास हो’ भन्दै यस्ता बहसले देशलाई पछाडि धकेल्ने चेतावनी दिनुभयो।

‘ऊर्जा पछाडि फर्काउन होइन, लोकतन्त्र, संविधान र सुशासन जोगाउन खर्च गरौँ’ — बस्नेत

प्रधानमन्त्री भेट र ‘त्रिशूल छाप’ प्रथामाथि प्रश्न

प्रधानमन्त्रीसँग भेट गरेर पार्टीभित्रकै सहयोद्धामाथि ‘त्रिशूल छाप’ लगाउने अभ्यासप्रति पनि बस्नेतले तीव्र प्रश्न उठाउनुभएको छ।

‘आधा एमाले साथमा छौँ भनेर आफ्नै सहयोद्धामाथि त्रिशूल छाप लगाउनु गुन बिर्सेर प्रतिशोध साध्ने राजनीतिक संस्कार होइन र ?’

एमालेभित्रको यो कडा अभिव्यक्तिले अब पार्टीको आन्तरिक राजनीति थप तात्ने संकेत देखिएको छ।
एकता बलियो बन्छ कि बहस अझ चर्किन्छ ?
अपडेटका लागि हामीसँगै रहनुहोस्।