गोरखा–लमजुङमा पर्यटन क्रान्ति : बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले पाउँदैछ अन्तरराष्ट्रिय पहिचान

गोरखा–लमजुङमा पर्यटन क्रान्ति : बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले पाउँदैछ अन्तरराष्ट्रिय पहिचान

गोरखा । नेपालको हिमाली पर्यटनमा नयाँ इतिहास कोर्न गोरखा र लमजुङका पाँच स्थानीय तह एकजुट भएका छन् । बुद्ध हिमालदेखि हिमालचुलीसम्म फैलिएको ग्रेट लेक सर्किट ट्रेल लाई विश्वस्तरीय ट्रेकिङ गन्तव्य बनाउने लक्ष्यसहित गोरखाको बारपाक सुलिकोट र अजिरकोट तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका सक्रिय रूपमा अघि बढेका हुन् ।

बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमालचुली, मनासिरी हिमशृङ्खला र दुर्लभ उच्च हिमताललाई समेट्दै साहसिक पर्यटकका लागि नयाँ गन्तव्य खोल्ने अपेक्षा गरिएको छ । स्थानीय समुदायमा आधारित दिगो पर्यटन विकासमार्फत रोजगारी, आयआर्जन र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास पालिकाहरूको छ ।

नेपाल पर्यटन बोर्डदेखि युएनडिपीसम्मको साथ
नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) अन्तर्गतको दिगो पर्यटन परियोजना (STP) र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को सहकार्यमा तीनदिने गोष्ठी तथा तालिम सम्पन्न भएको छ । गोष्ठीले पालिकाहरूलाई पर्यटन विकासमा नयाँ ऊर्जा र स्पष्ट कार्यदिशा दिएको सहभागीहरूको भनाइ छ ।

पदमार्ग सुधारदेखि पर्यटन हबसम्मको योजना
गोष्ठीले पुराना पदमार्ग र गोठालो बाटोको पहिचान, ट्रेल सुधार, पुल र सिँढी निर्माण, सुरक्षित पदमार्ग, खानेपानी, फोहर व्यवस्थापन, भरियाघर, जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना र सांस्कृतिक रुट विकासलाई प्राथमिकतामा राखेको छ ।

‘अब अन्तरराष्ट्रिय प्रचारमा जान्छौं’
अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलका अनुसार, भच्चेकमा सम्पन्न गोष्ठीले सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ब्रान्डिङ गर्दै औपचारिक सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । तालिममा पाँचै पालिकाका उपप्रमुख र सम्बन्धित शाखा प्रमुखहरूको उल्लेख्य सहभागिता थियो ।


तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, पर्यटन सद्भावना दूत धनबहादुर गुरुङ, परियोजना संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा. चेतनाथ कँडेललगायत पर्यटन क्षेत्रका अनुभवी विज्ञहरूको उपस्थिति रहेको थियो ।


बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल अब केवल पदमार्ग मात्र होइन, गोरखा–लमजुङको पर्यटन भविष्य बदल्ने सपना बनेको छ । सही योजना र सहकार्यले यो ट्रेल चाँडै नेपालकै अर्को चर्चित अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्य बन्ने संकेत देखिएको छ ।