२०८४ देखि बदलिँदैछ सामाजिक विषय

२०८४ देखि बदलिँदैछ सामाजिक विषय

कक्षा ५, ८ र १० का पाठ्यपुस्तक परिमार्जन सुरु, समावेशी र नागरिकमुखी शिक्षा प्राथमिकतामा

काठमाडौं । नेपाली विद्यालय शिक्षामा ठूलो परिवर्तनको संकेत देखिएको छ। कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम औपचारिक रूपमा सुरु भइसकेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले घोषणा गरेका छन्। परिमार्जित पाठ्यपुस्तकहरू २०८४ सालदेखि लागू हुने बताइएको छ।

शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनद्वारा आयोजित “बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता” विषयक अन्तर्क्रियामा बोल्दै पौडेलले अबका पाठ्यपुस्तक राष्ट्रियता, नागरिक दायित्व, सामाजिक सद्भाव र असल समाज निर्माणमा केन्द्रित हुने स्पष्ट पारे।

‘विविधताभित्र एकता’ पाठ्यपुस्तकको मूल मन्त्र

महानिर्देशक पौडेलका अनुसार पाठ्यपुस्तक लेखनअघि सरोकारवालासँग छलफल, लेखकहरूको अभिमुखीकरण र बहुआयामिक समीक्षा गरिएको छ।
उनले भने, “कतिपय विषयमा विज्ञ नै नपाइने अवस्था छ, तर सरोकारवालाको मागअनुसार पाठ्यक्रम र पाठ्यपुस्तक निरन्तर परिमार्जन हुँदै जान्छ।”

अध्ययन प्रतिवेदनले खोल्यो कमजोरी

कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्‍यो।
डा. होमराज आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा

  • अपाङ्गता भएका व्यक्ति

  • यौनिक अल्पसंख्यक समुदाय

  • भाषाको प्रयोग
    लगायत विषयमा सूक्ष्म तर गम्भीर कमजोरी औंल्याइयो।
    कतिपय सामग्री विभेदरहीत र बालमैत्री नभएको निष्कर्ष निकालिएको छ।

‘कक्षाकोठा नै समाजको ऐना हुनुपर्छ’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले कक्षाकोठामा समाजको प्रतिनिधित्व देखिनैपर्ने बताए।
उनका अनुसार पाठ्यसामग्री विज्ञ र दक्ष व्यक्तिबाट बहुप्रक्रिया पार गरेर निर्माण गरिँदैछ र सबै पाठलाई समावेशी बनाउने प्रयास भइरहेको छ।

सेभ द चिल्ड्रेनकी वरिष्ठ सल्लाहकार डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच स्पष्ट खाडल रहेको बताइन्।
उनको भनाइमा, “पाठ्यपुस्तकले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउन सकेको छैन। परिपूरक सामग्री विकास गरेर यो कमजोरी पूर्ति गर्न सकिन्छ।”

‘नायक पहिचान र वर्गीय विभेद बुझाउनुपर्छ’

शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले पाठ्यपुस्तक निर्माणअघि समाजमा योगदान दिएका व्यक्तिहरूको सूची बनाएर बहु-सांस्कृतिक नायकको पहिचान र सम्मान स्थापित गर्नुपर्ने बताए।
उनका अनुसार विभेदको जड धर्म, जात वा लिङ्गभन्दा बढी वर्ग हो, र विद्यार्थीलाई सचेत बनाउन सके विभेद घटाउन सकिन्छ।

विद्यार्थीको आवाज: ‘जेन–जी आन्दोलन पनि पढ्न पाऊँ’

विद्यार्थि प्रतिनिधि बेबिसा मग्रान्तीले पाठ्यक्रममा जेन–जी आन्दोलन समेट्न र पाठ्यपुस्तकलाई रङ्गिन, आकर्षक र गुणस्तरीय बनाउन माग गरिन्।
कार्यक्रममा सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी सुझाव संकलन गरिएको थियो।

सुझाव प्रतिवेदन सरकारलाई बुझाइने

कार्यक्रमको अन्त्यमा शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरिन्।
सहभागीहरूको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने जानकारी दिइएको छ।